बाढीपहिरोमा परि ज्यान गुमाउने मृतकको परिवारलाई राहत उपलब्ध गराउन विप्लवको माग
मकवानपुर २९ असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढीपहिरोमा परि ज्यान गुमाउने मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धि निकायसँग माग गरेको छ ।
विज्ञप्तिमा प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएको असमान सन्धि सम्झौता, नेपाल भार सीमानामा बनेको बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी जनताले ठूलो जनधनको क्षती व्यवहोर्न परेको बताइएको छ ।
