विकासको गति सँगसँगै लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध : मुख्यमन्त्री पौडेल
मकवानपुर १९ असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति सँगसँगै लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन् ।
चीनको ५ दिने भ्रमणमा रहेका मुख्यमन्त्री पौडेलले बिहिबार गान्सु प्रान्तमा भएको २५ औँ चीनको लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले चिनसँग सदैव राम्रो सम्बन्ध हुने प्रष्ट पार्दै दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताए । उनले चिनसँग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए ।
चीनको विकासबाट नेपालले धेरै कुरा सिक्ने भन्दै मुख्यमन्त्री पौडेलले भने–‘ चीन त विशेष छँदैछ त्यसमा पनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससंगै ३ नम्बर प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ ।’
उनले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताए ।
गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।
गान्सु प्रान्तमा मुख्यमन्त्री पौडेललको यो पहिलो भ्रमण हो । मुख्यमन्त्री पौडेल ५ दिने भ्रमणका लागि गत असार १७ गते चीन प्रस्थान गरेका थिए ।
