प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन सांसदको माग
काठमाडौं ५ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन प्रतिनिधिसभाका सांसदहरूले माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भरतकुमार शाह, महेन्द्रकुमारी लिम्बु र रामबहादुर विष्टले प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग गरेका हुन ।
सांसद भरतकुमार शाहले सञ्चार र मानव अधिकारसँग सम्बन्धित विधेयक फिर्ता लिन माग गरे । गुठी विधेयक फिर्ता लिएर सरकारले ढिलै भए पनि राम्रो काम गरेको उनको भनाइ छ ।
अर्की सांसद महेन्द्रकुमारी लिम्बुले जनस्तरबाट अस्विकृत भइसकेकाले मिडिया लगायतका विधेयक सरकारले फिर्ता लिनुपर्नेमा जोड दिइन् ।
त्यस्तै सांसद रामबहादुर विष्टले सरकारले मिडिया, मानव अधिकार, सुरक्षा लगायतका विधेयक फिर्ता लिनुपर्ने माग गरे । लोकसेवा सेवाले प्रकाशित गरेको विज्ञापन खारेज गर्नुपर्ने उनको भनाइ थियो ।
