थुना मुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै विप्लवका कार्यकर्ता अदालत परिसरबाटै पुनः पक्राउ

तु खबर संवाददाता
२०७६ जेष्ठ ३१, शुक्रबार १०:०८

नेत्रविक्रम चन्द नेतृत्व (विप्लवको) नेकपाका कार्यकर्तालाई उच्च अदालत पोखराले छाड्न आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ । बिहिबार उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको ५ घण्टा नबित्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरिबाट पक्राउ गरेको थियो । पक्राउ परेका ९ जनालाई थप अनुसन्धानको लागि जिल्ला अदालतले म्याद थपेको थियो । तर, गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै बन्दीका आफन्तले प्रत्यक्षीकरणको रिट हालेपछि अदालतले रिटमाथिको सुनुवाईका लागि दुबै पक्षलाई बहसका लागि बिहिबार बोलाएको थियो ।

बहसमा निवेदकका तर्फबाट अधिवक्ता रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोइराला, मिना रानाभाट, हिमाल पराजुली र डिल्लिराम अधिकारीले बह गरेका थिए भने विपक्षीको तर्फबाट नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए ।

रिटमाथि फैसला सुनाउँदै न्यायाधीश तेजबहादुर कार्की र सुभाष पौडेलको इजलाशले थुनामुक्त गर्न आदेश दिएको थियो । उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबुु थपलियाको रोहोबरमा छाड्न अदालतले आदेश दिएको थियो ।

पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अधिवक्ता रोहितराज बास्तोलाका अनुसार अदालतले नै निर्दोष साबित गरिसकेपछि पुनः पक्राउ गर्नु निन्दनिय छ । ‘हामी कत्तिको कानुनी राज्यमा बसेका छौं भन्ने कुरा यसैले पस्ट्याउँछ,’ उनले भने, ‘अदालत नै निर्दोष साबित गरिसकेपछि फेरि किन पक्राउ गर्ने ।’

यसबारे मानव अधिकारकर्मी पनि मौन रहेको भन्दै उनले गुनासो गरे । प्रहरीले लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकीमा थुनामा राखेको छ ।

आजको रातोपाटीमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*