‘विप्लव’ माओवादीले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेपछि गृह मन्त्रालयमा बैठक
काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ ।
प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन् ।
बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीहरू छन् ।
गृह स्रोतका अनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक डाकिएको हो ।
त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ ।
