घरेलु मदिरा रोक्न नयाँ फर्मुला !
मकवानपुर, ६ जेठ । करिव ६ वर्ष अघि भनिएको थियो – मकवानपुरका दश गाविसमा गैरकानूनी रुपमा हुँदै आएको गाँजा खेतीलाई विस्थापित गर्न एकीकृत योजना बनाइनेछ । पश्चिम मकवानपुरको मनहरीमा भएको गैरकानूनी गाँजाखेतीको विकल्पको रुपमा आयमूलक खेती सञ्चालन सम्बन्धी अन्तरक्रिया ले यस्तो निश्कर्ष निकालेको थियो ।
गाँजा खेती निरुत्साहित गर्न प्रयास गरिएपनि त्यो अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
यस्तै अर्को समस्या छ, घरेलु मदिराको उत्पादन र विक्री वितरण । घरेलु मदिरा ओसारपसार र विक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले धेरैलाई कारवाही समेत गरेको
छ । विशेष गरी आर्थिक बिपन्नहरु बाध्य भएर यस्तो अवैध पेशा अंगाल्दै आइरहेका छन् । गाउँलेले गाँजा खेतीको उचित विकल्प नपाए पनि मनहरी गाउँपालिकाले घरेलु मदिरा उत्पादन र विक्री वितरणमा लाग्दै आएका महिलालाई छुटकारा दिलाउन फर्मुला प्रयोगमा ल्याएको छ ।
अवैध मदिरा उत्पादन गर्दै आएकालाई समूह बनाएर बाख्रा वितरण सुरु गरिएको छ । गाउँपालिकाले ६ नम्बर वडासहित सुनाचुरीको खयरघारीमा ७ समूह बनाएर १८ वटा वाख्रा, पाठी र ब्याडे बोका उपलब्ध गराएको समाचार आजको हेटौंडा सन्देश मा छ । घरेलु मदिरा उत्पादन र विक्री वितरणमा संलग्न भएकाहरुलाई विकल्प दिन अहिले यस्तो योजना लयाइएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
