शीर्ष नेताबीच सहमति नजुट्दा संसदीय दलको बैठक स्थगित
विराटनगर १८ वैशाख । प्रदेश १ मा बुधबार बस्ने भनिएको प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । प्रदेश १ को सत्तारुढ दलका नेताहरुको बैठक लम्बिएपछि बुधबार बस्ने भनिएको प्रदेश संसदीय दलको बैठक स्थगित भएको हो ।
प्रदेश १ को सत्तारुढ दल नेकपाका प्रान्तीय नेताहरु प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउन बुधबार बिहानैदेखि विराटनगरको एक होटलमा बैठक बसिरहेका छन् ।
नेकपाले प्रदेश १ को संसदीय दलको बैठक बुधबार बिहान ११ बजे बोलाएको थियो । तर, शीर्ष नेताहरुले प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन नसकेपछि संसदीय दलको बैठक ३ बजेका लागि सारियो । अन्ततः ३ बजेको बैठक पनि स्थगित भएको जनाएको छ ।
