फेरि विद्रोह गर्ने भ्रम नपार्न प्रचण्डको आग्रह
काठमाडौं १० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपार्न सबैलाई आग्रह गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजित आदिबासी जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्ले सो कुरा बताएका हुन् ।
अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी जनजाति समूदायलाई पनि सचेत गराए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दवाव दिन जरुरी रहेको पनि बताए ।
