यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट

काठमाडौं ५ असोज । दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापरबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको छ ।
निर्मलाको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । सेती अञ्चल अस्पतालमा भएको पोस्मार्टममा मृत्युको कारण ‘घाँटी अठ्याएर’ भन्ने उल्लेख छ । बलात्कारपछि आफ्नो पहिचान खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । पोस्टमार्टम रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न ।
नयाँ पत्रिकालाई प्राप्त पोस्टमार्टम रिपोर्टअनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ । भोलिपल्ट साँझ ५ बजे शवको पोस्टमार्टम भएको थियो । पोस्टमार्टम गरिएको समयभन्दा करिब २४ देखि २६ घन्टाअघि निर्मलाको मृत्यु भएको रिपोर्ट चिकित्सकले दिएका छन् । रिपोर्टमा उनको घाँटीको कर्ड भाँचिएको देखिन्छ । शरीरका अन्य भागमा चोटपटक छैन, बाँया आँखामा भने नीलडाम थियो । पोस्टमार्टम गर्दा योनिबाट रगतजस्तो वस्तु बगिरहेको चिकित्सकले उल्लेख गरेका छन् ।
केन्द्रबाट खटाइएका दुईसहित अनुसन्धानमा चार टोली
घटनाको अनुसन्धानमा प्रहरी प्रधान कार्यालयले खटाएका दुई टोली कञ्चनपुरमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोलीले प्राविधिक रूपमा अनुसन्धानका लागि जिल्लाको टोलीलाई सहयोग गरेको छ । सूचना संकलनदेखि विभिन्न कोणबाट सो टोलीले तीन सातादेखि अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्को टोलीले पनि अनुसन्धान गरिरहेको छ । महिलाको नेतृत्वमा टोली खटाउँदा थप सूचना प्राप्त हुन सक्ने र अनुसन्धानमा सहज हुने प्रहरीको विश्वास छ ।
त्यस्तै अनुसन्धानमा भएको लापरबाहीको विषयमा छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको टोलीले पनि छानबिन गरिरहेको छ । प्रहरीले डिआइजी धिरु बस्नेतको नेतृत्वमा अर्को आन्तरिक छानबिन समिति गठन गरेर प्रहरीको कमजोरी केलाइरहेको छ ।
एसपी विष्टसहित ६ प्रहरी निलम्बित
अनुसन्धानमा लापरबाही गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित डिएसपीहरू अंगुर जिसी र ज्ञानबहादुर सेठी, इन्स्पेक्टरहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा असइ रामसिंह धामीलाई निलम्बन गरिसकेको छ ।
उनीहरूले स्थानीय युवक दिलीपसिंह विष्ट अभियुक्त भएको भन्दै सार्वजनिक गरेका थिए । तर, डिएनए परीक्षणमा विष्ट निर्दोष देखिए । तर, पक्राउ परेपछि विष्टले बताएको घटना विवरण र घटनास्थलको विवरण ठ्याक्कै मिलेकाले उनी नै अभियुक्त भएको पुरानो अनुसन्धान टोलीको दाबी छ । डिएनए परीक्षणको प्रमाण संकलनमा ‘त्रुटि’ भएको हुन सक्ने उनीहरूको आशंका छ । डिएनए नमिलेपछि विष्ट साधारण तारेखमा छुटिसकेका छन् ।
निर्मलाको कपडा पनि जलाइयो
अनुसन्धानमा सहज आधार बन्न सक्ने निर्मलाको कपडा पनि दाहसंस्कारकै क्रममा जलाइएको छ । त्यस्तै उनको किताबको समेत सुरक्षा हुन सकेन । किताब जोगाउन सकेको भए ‘फिंगर प्रिन्ट’बाट समेत अनुसन्धान हुन सक्थ्यो । तर, पहिले नै निर्मलाको कापी तथा किताब अरूले छोइसकेकाले अनुसन्धानमा समस्या भएको छ । निर्मलाको यौनांगमा भेटिएको वीर्यको आधारमा प्रहरीले डिएनए परीक्षणलाई अनुसन्धानको प्रमुख आधार बनाएको छ ।
सैनिकमाथि पनि अनुसन्धान
प्रहरीले किरणसहित त्यस दिन उनीसँग भएका सबै साथीसँग समेत सोधपुछ गरिसकेको छ । तर, संलग्नताको कुनै आधार भेटाउन नसकिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । स्थानीयको आशंकाका आधारमा प्रहरीले हाल निलम्बनमा रहेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा भीमदत्त नगरपालिकाका मेयरका भतिज सुरेन्द्र विष्टको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाइसकेको छ ।
घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रूपमा अनुसन्धान केन्द्रित गरिएको छ । तर, पत्राचार भने भइनसकेको प्रहरी स्रोत बताउँछ । स्थानीयबाट सूचनामा सहयोग नहुँदा अनुसन्धान प्राविधिक रूपमा भर पर्नुपरेको छ । पन्तका अभियुक्तलाई पक्राउ गर्न नसक्दा प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्नचिह्न खडा भएको छ ।
सिसिटिभीको हार्डडिस्क रिकभर हुँदै
निर्मला पन्त हत्याकै दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा फोटोसुट गरेका थिए । सोही दिन उनको जन्मदिनसमेत थियो । त्यसैले कतिपय स्थानीयले घटनामा उनको संलग्नताको समेत आशंका गरेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ । होटेलको सिसिटिभीको फुटेज डिलिट भइसकेको छ । होटेलमा १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो । सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लागिएको छ ।
आजको नयाँ पत्रिकामा समाचार छ ।