तामाङ प्रसारण दिवसमा मकवानपुरकी पुर्णिमा गोलेलाई तामाङ पत्रकारिता सम्मान

तु खबर संवाददाता
२०७५ भाद्र १, शुक्रबार १९:४३

हेटौँडा, ०१ भदौ । मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा बिगतमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले आज सम्मान गरेको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गरिएको हो ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानको प्रमुख आतिथ्यतामा आज हेटौँडामा भएको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनलाई सम्मान गरिएको हो । २४ औँ तामाङ प्रसारण दिवसमा ‘तामाङ पत्रकारिता सम्मान–२०७५’ बाट गोलेलाई सम्मान गर्दै प्रमुख अतिथि घलानले गोलेलाई आगामी दिनमा पनि तामाङ पहिचानका क्षेत्रमा अग्रसर हुन आग्रह गरिन् । मकवानपुरमा बिगतका दिनहरुमा तामाङ सञ्चारका माध्यमबाट तामाङ भाषा, धर्म, रितिरिवाज तथा समग्र तामाङ समुदायलाई टेवा पुराएको भन्दै उनलाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगरको विषेश आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलान, नगर घेदुङ अध्यक्ष भिमलाल सिन्तान, गुम्बा बिहार संरक्षण संघ जिल्ला अध्यक्ष नीरु थिङ, तामाङ पत्रकार संघका केन्द्रीय सदस्यद्वय दुदुमाया सिन्तान र शुभराज भोम्जन, नेपाल तामाङ घेदुङ मकवानपुरका सल्लाहकार एवम् युवा नेता शुभरत्न गोले, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

को हुन् पूर्णिमा गोले ?
वि.सं. २०४० साल माघ ४ गते पिता हरिबहादुर गोले र माता बुद्धिमाया गोलेको कोखबाट जन्म लिएकी पूर्णिमा गोले, मकवानपुरको तत्कालिन भैँसे गाविस वडा नम्बर ६ सानुटारमा जन्मिएकी हुन् । एम.ए. सम्मको अध्ययन पुरा गरिसकेकी गोले, मकवानपुरमा तामाङ भाषामा कार्यक्रम सञ्चालन गर्ने पहिलो महिला कार्यक्रम प्रस्तोता हुन् ।

जिल्लामा तामाङ भाषामा कार्यक्रम संचालकका रुपमा देखिएका डेबिट तामाङ र मेम्बर लोपछि चर्चामा आएकी उनले जिल्लाकै पहिलो एफ.एम. मनकामना एफ.एम. ९२.९ मेगाहर्जमा १ वर्ष ५ महिनासम्म तामाङ भाषाको कार्यक्रम संचालन गरेकी थिईन् । मकवानपुरको पहिलो टेलिभिजन टिम टेलिभिजनमा समेत १ वर्ष कार्यक्रम प्रस्तोता भएर काम गरेकी गोलेले हेटौँडा एफ.एम.मा वि.सं. २०६३ बैशाख २४ गतेदेखि वि.सं. २०६५ कार्तिक ३० गतेसम्म तामाङ भाषा सहित नेपाली भाषामा कार्यक्रम प्रस्तोता तथा समाचारवाचकका रुपमा काम गरेको अनुभव छ ।

विकासका लागि सहकार्य नेपाल, हेटौँडामा कार्यक्रम उत्पादन तथा आमसञ्चार सम्बन्धी तालिमको प्रशिक्षकका रुपमा समेत कार्य गरेकी गोलेले वि.सं. २०६७ सालदेखि २०७० सालसम्म स्थानीय शान्ति समितिमा रही कार्य गरेको अनुभव समेत छ । त्यस समयमा उनले रेडियो कार्यक्रम ‘शान्ति संवाद’ उत्पादन तथा संचालन गरेकी थिईन् । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) मकवानपुरको अध्यष समेत भएर कार्यभार सम्हालेकी उनले रेडियो मकवानपुरमा कार्यक्रम संयोजक समेत भएर काम गरेकी थिईन् ।

‘तिर्थ दास स्मृति पत्रकारिता पुरस्कार २०७३’ बाट समेत सम्मानित भइसकेकी गोलेलाई तत्कालिन तामाङ सञ्चार समूह ( हाल तामाङ पत्रकार संघ) केन्द्रीय समितिले समेत वि.सं. २०६९ साल भदौ १ गते ‘तामाङ मिडिया अवार्ड’ बाट सम्मान गरेको थियो । उनलाई वि.सं. २०६७ साल भदौ १ गते नेपाल तामाङ राष्ट्रिय महासंघले समेत सम्मान गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*