मकवानपुरे सञ्चारकर्मी जयराम मोक्तानलाई काठमाडौँमा सम्मान गरिने
मकवानपुर, ३० साउन । मकवानपुरे सञ्चारकर्मी जयराम मोक्तानलाई काठमाडौँमा सम्मान गरिने भएको छ । आउँदो भदौ १ गते परेको २४ औँ तामाङ प्रसारण दिवसका अवसरमा मोक्तान सहित केही संचारकर्मीलाई नेपाल राष्ट्रिय तामाङ घेदुङले सम्मान गर्न लागेको हो ।
हाल मकवानपुरको मनहरी एफ.एम.मा कार्यरत मोक्तान, तामाङ पत्रकार संघ मकवानपुर जिल्ला शाखाका कार्यसमिति सदस्य समेत हुन् । मकवानपुरको प्रतिध्वनी एफएम सहित अन्य मिडियामा समेत तामाङ कार्यक्रम संगै समाचार वाचनमा समेत चर्चित बनेका मोक्तानलाई लामो समयदेखि तामाङ सञ्चार क्षेत्रमा आवद्ध भइ तामाङ समुदायमा पुराएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको बताइएको छ ।
प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मोक्तान सहित रेडियो नेपालकी इन्दिरा थिङ, सूर्य मोक्तान, रेडियो सगरमाथाका बुद्ध योञ्जन, थाहा सञ्चार नेटवर्ककी सञ्चु ब्लोन, भरतपुर एफ.एम.का मोहोन ब्लोन, मेट्रो एफ.एम.का तिर्थमान बल, रेडियो मिर्मिरेका विष्णु दोङ, रेडियो नमोबुद्धका जगतमान बल र रेडियो जन सञ्चार भक्तपुरका सुदिन दोङलाई सम्मान गर्न लागिएको हो ।
