सिन्धुपाल्चोकका छ दर्जन घर पहिरोको जोखिममा

तु खबर संवाददाता
२०७५ श्रावण ३०, बुधबार १७:००

चौतारा, ३० साउन । अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् ।

भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा परेको छ ।

मध्यरातमा पहिरो आएको थाहा पाएपछि भूपेन्द्र खड्का र सरोज खड्काको परिवार राति नै भागेर सुरक्षित ठाउँमा बसेका छन् । बाह्रबिसे नगरपालिका–४ ओख्रेनीमा करीब एक हजार मिटर माथिबाट झरेको पहिरोले भूकम्पपछि पुनःनिर्माण गरिएका ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ग्रामीण सडक भासिएको छ ।

सो ठाउँमा पुनःपहिरो झरेमा तलको बस्तीलाई समेत असर पुग्ने हुँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पहिरोले सो नगरपालिकाको वडा नं ५ बसेरीमा पनि पाँच घर जोखिममा पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*