मकवानपुरे नेकपा नेताहरुको पदका लागि हानथाप, सहमति नजुटेपछि सबै आकांक्षीको नाम सिफारिस
हेटौँडा, ३० साउन । मानिसहरु राजनीतिमा किन लाग्न चाहान्छन् ? समाजको विकासका लागि कि आफ्नै विकासका लागि ? यो कुरा पत्ता लगाउनकालागि देशभरि नै पार्टीका नेताहरुको लुँछाचुँडी हेरे पुग्छ । मकवानपुरे जनताहरुले समेत यो कुरालाई विगत केही वर्ष यता नजिकैबाट नियाल्न पाएका छन् । पछिल्लो चरण अन्तर्गत नेकपाको जिल्ला नेतृत्वका सवाललाई लिएर ३ देखि ७ जनासम्म आकांक्षी देखिनु र कोही पनि पछि नहटी अन्तमा सहमति नभएर सबै आकांक्षीको नाम प्रदेश कार्यदलमा सिफारिस गरिनुले नेताहरु सामाजिक विकासका लागि भन्दा पनि पदको लोभ र आफ्नै स्वार्थका लागि पार्टीमा लाग्छन् भन्ने कुरा प्रष्ट झल्किएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को नेतृत्वका लागि मकवानपुरबाट एमाले र माओवादीले नेतृत्वका लागि दाबी गरेका सबै नाम प्रदेश कार्यदलमा सिफारिस गरिएको हो । दुवै पार्टीमा एक–एक वटा नाममा सहमति जुटाउन प्रयास गरेपनि सम्भव नभएपछि दाबी गरिएका सबै नाम सिफारिस गरिएको हो । एमालेमा छलफलबाटै नाम सिफारिस गरेपनि माओवादीमा भने खासै छलफल नगरी लाजमर्दो तरिकाले नाम सिफारिस भएको पार्टी सदस्यहरुले दाबी गरेका छन् ।
मकवानपुरको नेतृत्वका लागि .(अध्यक्ष वा सचिव) एमालेबाट बद्री लम्साल, एकलाल श्रेष्ठ र श्रीधर पोखरेलको नाम प्रदेश कार्यदलमा सिफारिस गरिएको छ । त्यस्तै माओवादी केन्द्रबाट पनि एकजनाको नाम सिफारिस गर्नुपर्नेमा सहमति हुन नसकेपछि आधा दर्जनको नाम सिफारिस गरिएको श्रोतको दाबी छ । माओवादीले कमानसिं पाख्रिन पृथक, बलराम बल, प्रमिला पुलामी, विष्णु विष्ट आर्दश, आशा नेपाली र प्रकाश पाण्डे प्रलोकको नाम सिफारिस गरेको बुझिएको छ । सिफारिस भएको नाम आज प्रदेश कार्यदललाई बुझाउने जनाइएको छ ।
प्रदेश ३ का १३ जिल्ला मध्ये ८ मा एमालेले अध्यक्ष र माओवदीले सचिव पाउने भएका छन् । त्यस्तै ५ वटा जिल्लामा माओवादीको अध्यक्ष र एमालेको सचिव हुने टुङ्गो लागेको छ । तर कुनकुन जिल्ला एमाले र कुनकुन जिल्ला माओवादीले नेतृत्व गर्ने भन्नेमा अन्यौलता कायमै रहेको छ । प्रदेश नम्बर ३ का स्थानीय कमिटी एकीकरण गर्न गठित कार्यदलमा अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशिनाथ अधिकारी र नारायण दाहाल सदस्य छन् । २१७ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट ११६ र पूर्व माओवादीबाट १०१ सदस्य रहने सहमति भएको छ ।
