स्थानीय तहका यी हुन् उदाहरणीय काम, महिलाका लागि सबैतिर निराशा होईन आशा लाग्दा काम पनि भएका छन्
काडमाडौं २९ साउन ।गर्भवतीको निःशुल्क भिडियो एक्सरे, सुत्केरीलाई एम्बुलेन्स सेवा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एकपटकको भिडियो एक्सरे खर्च बेहोर्ने निर्णय गरेको छ । मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा भिडियो एक्सरेको सुविधा दिइएको छ । त्यस्तै, सुत्केरी हुँदा स्वास्थ्य संस्थासम्म पु(याउन लाग्ने एम्बुलेन्स भाडा पनि नगरपालिकाले उपलब्ध गराउने भएको छ ।
सुत्केरीलाई नगरपालिकाको भालेदेखि एक माना घिउसम्म
धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर ‘सुत्केरीसँग जनप्रतिनिधि’ कार्यक्रम सुरु गरेको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्तर्गत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र आमाका लागि न्यानो झोला दिने गरिएको छ । ‘स्वास्थ्य कार्यकर्ता, वडासचिवसहितको टोली सुत्केरीको घरमै पुगेर जन्मदर्ता र आमाको स्वास्थ्य परीक्षण पनि गर्छौं,’ मेयर बिर्खबहादुर राईले भने, ‘आर्थिक अवस्था हेरेर पाँच सयदेखि हजार रुपैयाँसम्म सहयोग पनि गर्ने गरेका छौँ ।’
नियमित गर्भ जाँच गर्ने सुत्केरीलाई एक हजार प्रोत्साहन
बर्दियाको बढैयाताल गाउँपालिकाले नियमित गर्भजाँच गर्ने र गाउँपालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहनस्वरूप एक हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । यो रकम गर्भवतीलाई केन्द्र सरकारले दिने सुविधामा गाउँपालिकाले थप गरेको हो ।
बर्दियाकै मधुवन नगरपालिकाले नियमित गर्भ जाँच गराउने सुत्केरी महिलालाई सात सय प्रोत्साहन दिने गरेको छ । यो सुविधा पाउने सुत्केरीले कम्तिमा चारपटक गर्भजाँच गराएकै हुनुपर्छ ।
गर्भ जाँच गर्ने महिलालाई नगरपालिकाको थप सुविधा
बर्दियाको बारबर्दिया नगरपालिकाले चारपटकसम्म गर्भ जाँच गर्ने गर्भवती महिलालाई केन्द्र सरकारले दिने सेवारसुविधामा चार सय थपेर दिने व्यवस्था गरेको छ ।
‘छोरी जन्माऔँ, छोरी बनाऔँ’ अभियान
बर्दियाको गेरुवा गाउँपालिकाले छोराछोरीबीचको असमानता हटाउन र शिक्षा÷दिक्षाका लागि प्रोत्साहन गर्न ‘छोरी जन्माऔँ, छोरी बनाऔँ’ अभियान सुरु गरेको छ । यो अभियानअन्तर्गत छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्ने अभिभावकलाई दुई हजार रुपैयाँ दिने निर्णय गाउँपालिकाको छ ।
गर्भवती महिलालाई १० अण्डा
तेह्रथुमको म्याङलुङ नगरपालिकाको वडा नं। ९ ले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा स्वास्थ्यमा ध्यान पु(याउन तथा नियमित गर्भ जाँचका लागि सन्देश दिन यो कार्यक्रम सुरु गरिएको वडा सदस्य हर्कमाया श्रेष्ठले बताइन् । गर्भ जाँचका लागि हरेकपटक स्वास्थ्य चौकी जाँदा १० वटाका दरले अण्डा दिने गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
प्रत्येक दिन टोलटोलमा एक घन्टा स्वास्थ्यकर्मी
कालिकोटको पलाता गाउँपालिकाले ‘टोलटोलमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गर्ने भएको छ । यो कार्यक्रमअन्तर्गत स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी प्रत्येक दिन एक घन्टा टोलटोलमा पुगेर जनताको स्वास्थ्य जाँच गर्नेछन् । १ भदौदेखि सबै वडाका टोलटोलमा औषधिसहित जाने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । त्यस्तै, हप्ताको एक दिन सम्बन्धित वडाको स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मीले प्रत्येक विद्यालयमा गएर विद्यार्थीको स्वास्थ्यजाँच गर्नेछन् ।
छाउपडीमा भेदभाव गर्नेको सुविधा कटौती
डडेल्धुराको भागेश्वर गाउँपालिकाले महिलालाई छाउपडी भएको वेला भेदभाव गर्ने परिवारलाई गाउँपालिकाबाट पाउने सेवारसुविधा कटौती गर्ने भएको छ । छाउपडी प्रथा अन्त्यका लागि गाउँपालिकाले वर्ष २०७५ लाई ‘मर्यादित छुई वर्ष’का रूपमा मनाउने भएको छ । जसअन्तर्गत पहिलो चरणमा सबै वडामा जनचेतनामूलक होर्डिङ बोर्ड राख्ने तथा गाउँका पुजारी, धार्मिक गुरुहरूका लागि सचेतना अभियान चलाउने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
