झारफूकको भरपर्दा किशोरीको मृत्यु
वीरेन्द्रनगर २२ साउन । झारफुकको भरपर्दा वीरेन्द्रनगरकी एक किशोरीको मृत्यू भएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका १० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो ।
जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको थियोे । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए ।
बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् ।
