अपडेट–मकवानपुर प्रहरीले किन हान्यो अश्रु ग्यास ?
मकवानपुर, २१ साउन । अप्रिय घटना हुन नदिन अश्रु ग्यासको प्रहार गरी भिडलाई तित्तरवित्तर पार्नु प्रहरीको चरणवद्ध सुरक्षाका उपायहरु मध्ये एक हो । नेपालमा जनआन्दोलन ताकादेखि स्थानीयले समेत थाहा पाउने गरी प्रयोगमा आएको अश्रू ग्यास प्रहारका घटना हिजोआज सामान्य झडपमै पनि सुन्न सकिन्छ ।
आज पनि मकवानपुरको हेटौँडा १७ गैरीगाउँमा त्यस्तै घटना भयो । आईतबार टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको ज्यान जानुका साथै थप एक गम्भिर घाईते भएपछि क्षतिपूर्ति सहित अन्य माग राखेर प्रदर्शनमा उत्रिएको स्थानीयमाथि प्रहरीले अश्रु ग्यास प्रहार गर्यो ।
प्रहरीले अश्रु ग्यास प्रहार गरी नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी सहित २ जनालाई पक्राउ समेत गरेको छ । घटनालाई मिलाउन अहिले तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक सहितको टोली छलफलमा जुटेको छ ।
जिल्ला प्रहरीका डिएसपी नरेश कुमार सिं नेतृत्वको टोली आज घटनास्थलमा घटना मिलाउन पुगेका थिए तर टिप्पर साहु उपस्थित नभएको अवस्थामा समेत प्रहरीले टिप्परलाई जिल्ला प्रहरी कार्यालय ल्याउन थालेपछि स्थानीयले त्यसो गर्न दिएनन् ।
स्थानीय तथा मृतकका परिवारहरुले पहिला क्षतिपूर्ति दिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने माग राख्दै अवरोध गरेपछि मकवानपुर प्रहरीले बल प्रयोग गरेर टिप्पर जिल्लामा ल्याएको हो । अवरोधका क्रममा झडप भएपछि स्थानीय तथा मृतक परिवारमाथि नै प्रहरीले अश्रुग्यास प्रहार गर्दै स्थानीयलाई लाठी समेत हानेको थियो ।
घटनाका दोषीलाई कारवाही र पिडितलाई न्याय प्रदान गर्न र सबैलाई सचेत गराउन घटनास्थल पुगेका तरुण दल नगर अध्यक्ष र मृतकलाई समेत अश्रु ग्यास प्रहार गर्नुपूर्वका चेतावनी दिने सुचकहरु प्रयोग नगरी प्रहरीले जथाभावी अश्रुग्यास हानेको स्थानीयको आरोप छ । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश कुमार सिँहले आफुहरुले अवरोध गर्नेलाई पक्राउ गरेको र भिड शान्त पार्न लाठ्ठी चार्ज र अश्रुग्यास प्रहार गरिएको बताएका छन् ।
यस अघि कान्तिलोकपथ अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले कान्तिखलोकपथमा सवारी आवतजावतमा रोक लगाएका थिए ।
