रुपन्देहिको बोलबम धाममा भक्तजनको ठूलो भीड
बुटवल २१ साउन । रुपन्देहीको सैनामैना नगरपालिका १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम श्रावणी मेलामा आज सोमबार भक्तजनको घुइँचो लागेको छ ।
सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ ।
श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० गते ऋषितर्पणीसम्म एक महिना सञ्चालन हुने बोलबम धाममा विशेष गरी भगवान शिवलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पूजारी चन्द्र नेपालले जानकारी दिए ।
पूजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययन, अनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वंय उत्पत्ति भएको यसको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने, आरोग्य र ऐश्वर्य प्राप्त हुने बताए ।
