मकवानपुरमा ६ करोड बजेट काम नगरीकनै फ्रिज, बजेट फ्रिज गर्नेमा हेटौँडा उपमहानगर पहिलो नम्बरमा, भिमफेदीको काम धेरै

तु खबर संवाददाता
२०७५ श्रावण २१, सोमबार १०:३३

हेटौँडा, २१ साउन । मकवानपुरमा करिब सवा ६ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा मकवानपुरका स्थानीय तहमा आएको वित्तीय हस्तान्तरण बजेटबाट झण्डै सवा ६ करोड रुपियाँ फ्रिज भएको हो । आजको साझाकुरा दैनिकमा यो खबर प्रकाशित छ । मकवानपुरका १० वटा स्थानीय तहले गत आवमा ६ करोड १९ लाख ४८ हजार रुपियाँ खर्च गर्न नसकी रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ ।

गत आवमा मकवानपुरका स्थानीय तहमा वित्तीय हस्तान्तरणअन्तर्गत ३ अर्ब ७४ करोड ५४ लाख १९ हजार रुपियाँ विनियोजन भएकोमा ३ अर्ब ६८ करोड ३४ लाख ७० हजार रुपियाँ मात्र खर्च भएको हो । १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी रकम फ्रिज गर्नेमा हेटौंडा उपमहानगरपालिका रहेको छ ।

उपमहानगरबाट १ करोड ७१ लाख ५६ हजार रुपियाँ फ्रिज भएको छ । उपमहानगरको लागि विनियोजन भएको ९७ करोड ५५ लाख १२ हजार रुपियाँ मध्ये ९५ करोड ८३ लाख ५५ हजार रुपियाँ मात्र खर्च भएको थियो । बकैया गाउँपालिकाले पनि करिब पौने करोड रुपियाँ खर्च गर्न नसक्दा फ्रिज भएको जनाइएको छ ।

बकैयालाई केन्द्र सरकारबाट ४१ करोड १६ लाख ७८ हजार रुपियाँ विनियोजन भएकोमा ४० करोड ३२ लाख १५ हजार मात्र खर्च भएको छ । गाउँपालिकाले ८४ लाख ६२ हजार रुपियाँ खर्च गर्न नसकेपछि फिर्ता भएको छ । राक्सिराङ गाउँपालिकाले पनि पर्याप्त रकम खर्च गर्न सकेन । राक्सिराङलाई २९ करोड ३३ लाख ५१ हजारमध्ये २८ करोड ५१ लाख ८६ हजार रुपियाँ मात्र खर्च भएको देखिएको छ । राक्सिराङले ८१ लाख ६४ हजार रुपियाँ खर्च गर्न नसकेपछि फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी मनहरी गाउँपालिकामा ३३ करोड १ लाख ७ हजार रुपियाँ विनियोजन भएकोमा ३५ लाख २२ हजार रुपियाँ खर्च हुन नसकी फिर्ता भएको छ । त्यसैगरी थाहा नगरपालिकाको लागि ३८ करोड ४४ लाख ५३ हजार रुपियाा विनियोजन भएकोमा ३५ लाख ७५ हजार रुपियाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाका कोष नियन्त्रक सरोज ढकालले जानकारी दिए ।

त्यसैगरी बागमती गाउँपालिकाले पनि पर्याप्त बजेट खर्च गर्न नसकेको देखिएको छ । गाउँपालिकामा कुल ३२ करोड ७९ लाख ८८ हजार रुपियाँ विनियोजन भएकोमा ५६ लाख ७७ हजार रुपियाँ खर्च हुन नसकेको जनाइएको छ । कैलाश गाउँपालिकाबाट पनि ७२ लाख २७ हजार रुपियाँ फ्रिज भएको छ । कैलाशलाई कुल २७ करोड ५६ लाख ९५ हजार रुपियाँ छुट्याइएकोमा २६ करोड ६४ लाख ६७ हजार रुपियाँ मात्र खर्च भएको छ । इन्द्रसरोबर गाउँपालिकाबाट पनि ५१ लाख ३६ हजार रुपियाँ खर्च भएको देखिएको छ । इन्द्रसरोबरलाई १७ करोड १ लाख ६२ हजार रुपियाँ प्राप्त भएकोमा १६ करोड ५० लाख २५ हजार रुपियाँ मात्र खर्च भएको उल्लेख गरिएको छ ।

भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले तुलनात्मक रुपमा बढी खर्च गर्न सफल भएका छन् । मकवानपुरगढीको लागि २८ करोड २७ लाख ३३ हजार रुपियाँ प्राप्त भएकोमा २८ करोड ५ लाख ५० हजार रुपियाँ खर्च भएको जनाइएको छ । गढीबाट २१ लाख ८२ हजार रुपियाँ फ्रिज भएको छ ।
भीमफेदी गाउँपालिका भने तुलनात्मक रुपमा अरुले भन्दा बढी बजेट खर्च गर्न सकेको छ । भीमफेदीलाई २९ करोड ३६ लाख ६० हजार रुपियाँ छुट्याइएकोमा २९ करोड २८ लाख १७ हजार रुपियाँ खर्च गरेको छ । भीमफेदीबाट जम्मा ८ लाख ४२ हजार रुपियाँ मात्र फ्रिज भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*