मानव तस्कारी रोक्ने विषयमा हेटौँडामा अन्तरक्रिया
हेटौँडा, २० साउन । सर्कस काठमाडौं र एफ.एस.आई नेपालको संयुक्त आयोजनामा मकवानपुरको हेटौंडामा शनिबार जन चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । मानव तस्करीको प्रकोपसँग कमजोर समुहलाई लक्षित मानव तस्करीलाई रोक्न र नैतिक विकल्पको जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको संचारकर्मी भुवन घलानले जानकारी दिए ।
हेटौंडाको पल्पसा हलमा भएको कार्यक्रममा बाल तस्करी निवारण तथा विकल्प र दलालबाट युवाहरु वैदेशिक रोजगारीको नाममा ठगीमा पर्ने जस्ता विषयमा सचेतना मुलक नाटक र फिल्म प्रदर्शन गरिएको एफ.एस.आई नेपालका क्षेत्रीय निर्देशक इन्द्र गुरुङले बताए ।
सर्कस काठमाडौं भारतीय सर्कसमा बालबालिका तस्करी भएर उद्वारित ब्यक्तिद्वारा स्थापना भएको र ११ जना भारतीय सर्कसबाट रिहाई भइसकेपछि सर्कस काठमाडौं नामाकरण हुन पुगेको उनले बताए । उनका अनुसार आफ्नो स्थापनाकालदेखी नै थप तस्करी रोक्न र मानव तस्करीबाट फर्किएका प्रतिको समाजमा निषेधित मनसाय तोड्न विभिन्न जिल्लाको समुदायमा जादु, नाटकजस्ता कलाको माध्यमबाट विभिन्न कार्यक्रम संचालन गर्दै आएको हो ।
कार्यक्रमलाई नेपालको धादिङ, मकवानपुर, बिराटनगर, झापा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र नुवाकोट जस्ता प्रत्यक्ष प्रभावित ८ जिल्लामा प्रदर्शन गरिने उनको भनाई छ । हाल सम्म धादिङ र मकवानपुर गरी २ जिल्लामा प्रदर्शन भएको उनले जानकारी दिए । उनका अनुसार अब चाँडै नै अन्य ६ जिल्लामा पनि कार्यक्रम गरिने तयारी भइरहेको छ ।
प्रदर्शन गरिएको चलचित्रमा युवा अवस्थामा नेपाल फर्किए पछि भेट भएको कथाका २ पात्र शितल र सरस्वतीको कथा छ । कथा अनुसार कथाका दुई पात्रले उक्त समयमा भबिष्य के होला भनेर सोच्न समेत सकेका हुँदैनन् । सानै उमेरमा भारतीय सर्कसमा बेचिएर बर्षौँसम्म सर्कस गर्दै आफ्नो जिवनयापन गरिरहेका ती दुई किशोरीको रिहाई स्वरुप नेपाल ल्याईसकेपछिको जीवन अझ संघर्षपूर्ण बित्यो । विशेष गरी सर्कस र त्यसबाट निस्किसकेपछि समाजले गर्ने व्यवहार र कष्टपूर्ण जीवनका बारेमा निर्माण गरिएको ‘इभन ह्वाईन आई फल’ चलचित्रमा करिब ६ बर्ष देखिको सिप, कला र चुनौतीको संघर्षको कथा देखाइएको छ ।
