प्रदेश ३ मा कानुन निर्माण सुस्त, ६ महिनामा १० वटा कानुन
मकवानपुर, १९ साउन । समयमै आवश्यक कानुन निर्माण हुन नसकेपछि प्रदेश ३ सरकारलाई काम गर्न कठिन भएको छ । एकातिर लामो समयसम्म संसद स्थगन हुने र काममा सुस्तताका कारण कानुन निर्माणको गति पनि सुस्त बनेको हो । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।
प्रदेश कानुन निर्माणका लागि सरकारले विधेयक दर्ता गरे पनि संसदको काम गर्ने गति सुस्त हुँदा कानुन निर्माणको गति पनि सेलाएको हो । प्रदेश ३ सरकार गठनपछि कानुन निर्माणमा मात्र केन्द्रित भएको अवस्थामा हालसम्म १० वटा मात्र कानुन निर्माण भएका छन् । ७ मन्त्रालयका लागि एक सय कानुन आवश्यक रहेको पहिचान भएपनि हालसम्म प्रदेश सरकारले १० वटा मात्र कानुन निर्माण गरेको हो । मुख्यमन्त्री देखि सत्तारुढ सांसदसम्मले सरकार कानुन निर्माणकै चरणमा रहेको र त्यसमा केन्द्रित भएको दाबी गरिरहेको अवस्थामा कानुन निर्माणमा निक्कै ढिलाई भएको देखिन्छ ।
६ महिना अवधिमा करिब १५ वटा कानुन निर्माण हुनुपर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दाबी गरेपनि सरकारले लक्ष्य भेटाउन सकेन ।
