चौकीटोलदेखि फरेष्ट्रिसम्म र राप्तिपुलदेखि बुद्धचोकसम्म आजैदेखि पूर्ण रुपमा पार्किङ निषेध

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १४:२६

मकवानपुर, १८ साउन । पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको हेटौँडा उपमहानगरपालिका अन्तगर्त पर्ने सडक खण्डमा आजकै मितिदेखि सवारी पार्किङलाई पूर्ण रुपमा निषेध गरिने भएको छ ।

मकवानपुरमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा स्थानीय प्रशासन सम्मिलित आजको बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको हो ।

बैठकको निर्णयसँगै राप्तिरोड, स्कूलरोड तथा बुद्धचोक जस्ता क्षेत्रमा पार्किङ गर्न नपाईने भएको छ । कान्ति लोकपथ क्षेत्रमा नो पार्किङ गर्नका लागि यथासिघ्र विकल्प खोजी अविलम्व व्यवस्थापन गर्ने निर्णय भएको छ ।

बैठकले राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा नो पार्किङ गर्ने सम्बन्धमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टिको खाली ठाउँ र बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनि मार्केट क्षेत्रमा पार्किङ क्षेत्र तोकिने निर्णय भएको छ । त्यस्तै राप्तिरोडमा साविक दक्षिणतर्फ रहेको दुई पाङ्ग्रे सवारी साधन पार्किङलाई हटाई नो पार्किङ कायम गरिने भएको छ ।

त्यस्तै चौकीटोल ओरालोदेखि बुद्धचोकसम्म दुई पाङ्ग्रे सवारी साधन पार्किङ हुँदै आएकोमा सो क्षेत्रलाई नो पार्किङ क्षेत्र घोषणा गरी पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल तोकी त्रिभुवन राजपथलाई नो पार्किङ घोषणा गरिने भएको छ । त्यस्तै बुद्धचोकदेखि फरेष्ट्रिसम्म नो पार्किङ क्षेत्र घोषणाका लागि सो क्षेत्रमा पार्किङ हुँदै आएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी पार्किङलाई हटाई टिसिएनको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईने भएको छ ।

साथै नो पार्किङ क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन लोड अनालेड गर्ने व्यवस्था मिलाउनका लागि बिहान साढे ८ बजे अगाडि र साँझ साढे ७ बजेपछि मात्र लोड अनलोड गर्न पाईने निर्णय भएको छ । त्यस्तै स्कूलरोडमा समेत नो पार्किङ घोषणा गरी त्यहाँ पार्किङ हुँदै आएका दुई पाङ्ग्रे सवारीलाई भुटनदेवी स्कल अगाडि पार्किङको व्यवस्था मिलाईने भएको छ ।

बैठकमा मेयर महतसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, त्यस्तै हेउनपाको प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाही सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*