अभ्यास खेलका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १२:४७

काठमाडौं, १८ साउन । अभ्यास खेलको लागि नेपाली फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोली थाईल्याण्डतर्फ प्रस्थान गरेको हो ।

साफ च्याम्पियनसिपको राष्ट्रिय टोली र एसियन गेम्सको यू–२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेको हो । थाइल्याण्डमा नेपालको दुई छुट्टै टोलीले मैत्रीपूर्ण खेल खेल्ने छन् । नेपालको राष्ट्रिय टोली आउँदो मंगलबार त्यहाँको पुलिस तेरोसँग खेल्नेछ भने नेपालको यू–२३ टोलीले अर्को शुक्रबार थाइल्याण्डको यू–२३ टिमसँग अभ्यास खेल खेल्नेछ ।

एसियन गेम्सको समूह डी मा रहेको नेपालले पहिलो चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ । दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि १५ सम्म ढाकास्थित बंगलबन्धु नेशनल स्टेडियममा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, पाकिस्तान र भुटान समूह ए मा छन् भने भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छन् ।

खेल तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर ४ मा खेल्नेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ६ मा भुटान तथा तेस्रो खेल सेप्टेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*