वीरगञ्ग ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै
वीरगञ्ज १६ साउन । केही समययता पर्साको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक पेटीको अभाव, जथाभावी चौपाया छोड्नु, पैदल यात्रीमा ट्राफिक नियमको चेतना नहुनु, जथाभावी सवारीसाधन पार्किङ गर्नु, सडकपेटीमा फुटकर व्यापार गर्नु, सडक नै ढाकेर राजनीतिक तथा धार्मिक कार्यक्रम गर्नुजस्ता कारणले पर्साको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
दुर्घटना नियन्त्रण, न्यूनीकरण, रोकथाम तथा सर्वसाधारणलाई ट्राफिक ऐन नियमको पालना गर्न गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष अभियान सञ्चालनमा ल्याएको छ । वीरगञ्जको घण्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पतालसम्म व्यवस्थित पार्किङ, धार्मिकस्थल माईस्थानको अगाडि ठेला तथा फुटकर व्यापारीलाई हटाउने, निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।
सवारी नियमको पालना नगरी जथाभावी सवारी पार्किङ गरिएको भेटिएमा कारवाही गरी जरिबाना गर्नेजस्ता ट्राफिक व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर अघि बढी रहेको ट्राफिक प्रहरी निरीक्षक सुरेशकुमार शाहले बताए ।
ट्राफिक कार्यालयले आव २०७४÷७५ मा २६ हजार १८० सवारीसाधनलाई कारवाही गरी रु एक करोड ५७ लाख ५२ हजार राजश्व उठाएको छ । गत आवमा सवारी दुर्घटनामा परी १६ पुरुष, तीन महिला र तीन बालबालिका गरी जम्मा १७ जनाको मृत्यु भएका थियो भने १५ जना सख्त घाइते तथा पाँच जना सामान्य घाइते भएका थिए ।
