भुकम्प प्रभावित जोखिम परिवारलाई जग्गाधनी पुर्जा
मकवानपुर १६ साउन । भुकम्प प्रभावित जोखिम परिवारहरुलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नका लागि मकवानपुरको राक्सीराङ्ग गाउँपालिकाका ८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको छ । जिल्ला कार्यान्वयन इकाईको आर्थिक सहयोगमा राक्सीराङ्ग गाउँपालिकासँग सहकार्य गरि सामुदायिक आत्म निर्भर केन्द्र/ दीगो समाधानले मंगलबार पुर्जा हस्तान्तरण गरेको हो ।
राक्सीराङ्ग गाउँपालिका अन्तरगतको काँकडाका परिवारलाई मनहरी गाउँपालिका ६ सुनाचुरीमा र राक्सीराङ्गका परिवारलाई राक्सीराङ्ग ५ चैनपुरमा दश–दश धुर जग्गा किनिएको छ । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा राक्सीराङ्ग गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष चन्द्रसिँह प्रजाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खुलाल, जिल्ला कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमल्सिना लगायतले जग्गाधनी पुर्जा हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सानुकान्छी सिन्तान, राक्सीराङ्ग वडा नम्बर ४ का अध्यक्ष संजय कोईराला, जिल्ला भुमी अधिकार मञ्चका अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, सामुदायिक आत्म निर्भर केन्द्रका जिल्ला पैरवी संयोजक राम शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले यसअघि ठिंगनका २ भुकम्प प्रभावित जोखिम परिवारहरुलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न जग्गाधनी पुर्जा हस्तान्तरण गरेको जनाएको छ ।
