मकाउ पठाउँछु भन्दै सर्वसाधारणलाई ठगी गर्ने ५० बर्षीय भण्डारी पक्राउ
काठमाडौं १५ साउन । मकाउ पठाउँछु भनी ठगी गरेको अभियोगमा सुनसरी धरान घर भएका ५० वर्षीय बालकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भनी २३ जनाबाट प्रतिव्यक्ति २ लाख ७५ हजार रूपैयाँ उठाई ठगी गरी फरार भएका भण्डारीलाई खोजतलास गर्ने क्रममा ललितपुरस्थित थसिखेल कुसुन्तीबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी उत्तर कोरियास्थित कृषि फर्ममा राम्रो रोजगारीको अवसर छ भनी प्रतिब्यक्ति ७ लाख रुपैयाँ लाग्छ भन्दै ठगी गरेको अभियोगमा सिन्धुली पुरानो झागली ७ का ३० वर्षीय दिनेश भन्ने रामबहादुर थापा, मकवानपुर फापरबारी ४ लामेटारका २७ वर्षीय दिनेश श्रेष्ठ र मकवानपुर सरस्वती घर भएकी ३१ वर्षीया कल्पना ढुंगानालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रामबहादुरलाई काठमाडौं कपनबाट, दिनेश र कल्पनालाई काठमाडौं महाराजगंजबाट पक्राउ गरको हो ।
