पदमपोखरी हात्तिगौँडामा २७ जनालाई बेसिक कम्प्युटर तालिम प्रदान
मकवानपुर, १३ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा ३ महिने आधारभूत कम्प्युटर तालिम सकिएको छ ।
वडा नम्बर १२ का सिक्रेनी, हात्तिगौँडा, पान्तले, घरेडीडाँडा, भोर्ले, आँपधाप लगायतका क्षेत्रका २७ जना महिला तथा पुरुष प्रशिक्षार्थीहरु सहभागी तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । तालिमका लागि ३७ जनाले आवेदन दिएकोमा २७ जना प्रशिक्षार्थीले पूर्ण रुपमा तालिम लिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको ४ वटा कम्प्युटर तथा बुद्ध माविबाट सहयोग प्राप्त १ वटा कम्प्युटर गरी ५ वटा कम्प्युटरमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । 
वडा नम्बर १२ का अध्यक्ष ललित घलानको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षक देवबहादुर मल्लससहितको उपस्थितिमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रशिक्षार्थीहरुले बेसिकका साथसाथै अब डिप्लोमा कोर्स पनि सञ्चालन गर्न आग्रह गरेका थिए । वडा अध्यक्ष घलानले आर्थिक वर्ष २०७५–०७६ मा प्रशिक्षार्थीहरुका लागि कम्प्युटरको डिप्लोमा कोर्स समेत सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
