मकवानपुरका सिडिओको बिदाई, व्यवसायीहरुलाई नियम संगत लैजान सुझाव
मकवानपुर, ११ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई मकवानपुर उद्योग वाणिज्य संघले आज बिदाई गरेको छ । बिदाईका क्रममा सिडिओ बुढाले व्यवसायीहरु पनि उपभोक्ता भएकोले व्यवसायलाई नियम संगत लैजान जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रजिअ बुढाले मकवानपुरमा आफ्नो ११ महिने सेवा रहेको र १६ वर्षे निजामती सेवाको क्रममा रहेको बताउँदै यस क्षेत्रमा सबैको सहयोग, समन्वय, सहकार्यले सफलता मिलेको बताए । जिल्लाको सौहार्दपूर्ण वातावरणले प्रभावित भएको बताउँदै यहाँको समस्याको समाधानमा सक्दो प्रयास गरेको र व्यवसायीहरु पनि उपभोक्ता भएकोले व्यवसायलाई नियम संगत लैजान जरुरी रहेको बताए ।
व्यवसायीहरुलाई गुणस्तरीय सामाग्री बिक्रि वितरण गरी सेवामुखी वनी थप मर्यादित बन्न समेत उनले आग्रह गरे । उनले पछि आउने प्रमु्ख जिल्ला अधिकारी आशमान तामाङसंग पनि सहकार्य गर्दै अघि बढ्ने बताए । सिसिटिभि मर्मत र विस्तारको लागि आफु सकारात्मक रहेको , पार्किङ्ग व्यवस्थित गर्न दिर्घकालीन सोच बनाएर अघि बढ्नु पर्ने, नहुन्जेललाई पार्किङ यथावत राख्दा कुनै आपत्ति नभएको बताए ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष कटुवालले कार्यकाल सुमधुर र सहज रहेको बताउँदै आगामी दिनमा मिलन हुने विचार व्यक्त गरेर आगामी दिनको कार्यकालको शुभकामना व्यक्त गरे । प्रजिअको कार्यकालमा भएको सिसिटिभि, पार्किङ, मोवाईल, ट्रेनिङ्ग सेन्टर सञ्चालनमा सहयोग प्राप्त भएकोमा धन्यवाद दिँदै अध्यक्ष कटुवालले प्रमुख जिल्ला अधिकारीको कार्यकाल सफल रहेको बताए । साथै उनको आगामी कार्यकाल कास्कीमा पनि सफलता मिलोस् भन्दै शुभकामना दिए । कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले हेटौंडामा पार्किङ, समस्याका साथै अन्य विषयका बारेमा प्रशासनवाट सहयोग प्राप्त भएको बताए ।
कार्यक्रममा खादा, टिका लगाई संघको तर्फबाट ३ नं प्रदेशमा रहेका जिल्ला अंकित मायाको चिनो प्रदान गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले प्रशासन भन्दा पनि पेशागत पारिवारिक सम्बन्ध कायम भएको बताए ।
