पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रका संचालकहरुले भने – हामीमाथि अन्याय भयो
मकवानपुर । हिजो दर्ता अनुमति नलिई पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्र चलाएको लगायतका संगीन आरोप लगाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रका संचालकहरुले यथार्थ सार्वजनिक गर्न आज बिहीबार साँझ पत्रकारहरुसँग भेटघाट गरेका छन् । पत्रकारहरुसँग भेटघाटका क्रममा ती संचालकहरुले वास्तविकता अर्कै भएपनि व्यक्तिको सार्वजनिक जीवनमा गम्भीर आघात पार्ने गरी समाचारहरु सार्वजनिक भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
अबैध रुपमा पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रहरु संचालन गरी मोटो रकम अशुली गरेको, एउटा काममा पठाइदिने भनी अर्कै काममा लगाएको जस्ता आरोपहरु लगाएर हेटौंडामा पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्र चलाउने संचालकहरुलाई प्रहरीले पक्राउ गरेको र आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाइएको भनी साँझ मिडियाहरुमा विज्ञप्ती पठाएको थियो । सोही विज्ञप्तीको आधारमा मिडियाहरुले पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रहरुका संचालक पक्राउ परेको समाचार सार्वजनिक गरेको थियो ।
यसरी सार्वजनिक समाचारप्रति संचालकहरुले सार्वजनिक जिवनमा असर पर्ने आफ्नो मान मर्दन हुने गरी समाचार आएकोमा निकै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्रहरीले आफूहरुलाइृ छलफल छ भनी बोलाएको समेत स्पष्ट पारेका छन् । छलफल गर्नु छ भनी वडा प्रहरी कार्यालय हेटौंडाले आफूहरुलाई बोलाएको र त्यसका लागि आफूहरु आफ्नै साधनको प्रयोग गरी वडा कार्यालयमा समेत पुगेको उनीहरुले बताएका छन् । वडा प्रहरी कार्यालय पुगेपछि आवश्यक छलफल गरेको उनीहरुले बताए । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकले एक पटक एसपी साहेबलाई पनि भेट्नु भने बमोजिम आफूहरु जिल्ला प्रहरी कार्यालय पुगेको एक संचालकले बताएका छन् । त्यहाँ पुग्दा एसपी साहेब हुँनुहुँदो रहेनछ, डीएसपी साहेबलाई भेट्यौँ, उनले तु खबरसँग भने । डीएसपीले गम्भीर भएर हाम्रा कुराहरु बुझ्न चाहेनन् । त्यसपछि हामीलाई जिल्ला प्रशासन कार्यालय पठाइयो । त्यहाँबाट पछि उपस्थित हुने गरी हामी आएका हौँ । घटनाक्रमहरुबारे विस्तृतमा ती संचालकले भने – त्यसपछि मिडियाहरुमा हामीलाई पक्राउ गरिएको समाचार सवैतिर आयो ।
भएको यस्तो थियो :
प्रहरीले पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रहरुका संचालकलाई आवश्यक छलफलको लागि वडा कार्यालय बोलाएको थियो । वडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले संचालकहरुसँग कुरा सुनिसकेपछि मलाई भनेकै कुरा एसपी साहेबलाई भन्नुहोस् भनेर जिल्ला प्रहरी कार्यालय पठाए । संचालकहरु आफै जिल्ला प्रहरी कार्यालय पुगे । त्यहाँ एसपी बुद्धीराज गुरुङलाई भेटे । सस्थाको दर्ता प्रकृया आदिका बारेमा संचालकहरुले व्रिफिङ गरिरहेका थिए, तर एसपीले संचालकहरु को पुरा कुरा सुन्दै नसुनी जिल्ला प्रशासन कार्यालय पठाइदिए ।
प्रहरीको विज्ञप्ती तथ्ययुक्त छ ?
पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रहरुका संचालकलाई प्रहरीले छलफलबाट जिल्ला प्रशासन पठाएपछि प्रहरीले एउटा विज्ञप्ती मिडियाहरुलाई पठायो । प्रहरीले पठाएको विज्ञप्तीलाई अध्ययन गर्ने हो भने त्यसमा धेरै कुरा तथ्ययुक्त छैन । प्रहरीले तयार पारेको विज्ञप्तीमा हचुवाका भरमा शैक्षिक संस्थाका संचालकहरुलाई संघीन आरोप लगाइएको छ । प्रहरीकहाँ मुद्धा परेर त्यसको छानविनका क्रममा आएका तथ्यहरु भन्दापनि हचुवा आरोपहरु लगाइएको छ । ‘अध्ययन भिसामा पठाई बिभिन्न देशहरुमा राम्रो काम पाउने प्रलोभन दिई युवायुवतिसित मोटो रकम अशुल उपर गर्ने गरेको र त्यसरी जाने युवायुवतिहरु बिभिन्न देशमा मानव वेचविखन जोखिममा परेको भन्ने विभिन्न गुनासाहरु आइरहेको भन्दै मकवानपुरमा पनि शैक्षिक सस्थाहरुको यस्तो गतिविधि देखिएको’ प्रहरीले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रहरीको यहि आरोपलाई सस्थाका संचालकहरुले अस्वीकार गरेका हुन् । उनीहरुले आफ्नो सस्थाले निश्चित मापदंड पूरा गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको, त्यसपछि आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको र त्यसपछि कन्सल्टेन्सी / शैक्षिक परामर्श केन्द्र खोलिएको र सो खुलेको जानकारीसहित शिक्षा मन्त्रालयमा अनुमतिका लागि निवेदन दर्ता गरिएको संचालकहरुले बताएका छन् । मन्त्रालयले यसरी निवेदन दर्ता भएका पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रहरुलाई ३ महिनाभित्र अनुगमन गरी अनुमति दिनुपर्नेमा जनशक्तिको अभाव भन्दै प्रमाणपत्र नदिएको संचालकहरुले स्पष्ट पारेका छन् ।
आफूहरुले मोटो रकम नलिएको, कसैलाई प्रभोलन नदिएको संचालकहरुले बताएका छन् । प्रहरीले तथ्य भन्दा बाहिर गएर आरोप लगाएको उनीहरुले बताए । २०७३ साल कात्तिक ७ गते आफ्नो सस्थाको फाइल सबै कानूनी प्रकृया पूरा गरी शिक्षा मन्त्रालयमा दर्ता भएको भएपनि मन्त्रालयका कारण अहिलेसम्म आफूले प्रमाणपत्र प्राप्त गर्न नसकेको एक शैक्षिक सस्थाका संचालकले बताए । उनका अनुसार, यहि जेठ महिनामा मन्त्रालयले सस्थाको अनुगमन गरेको छ, तर अहिलेसम्म प्रमाणपत्र दिएको छैन ।
पत्रकार सम्मेलनमा उपस्थिति शैक्षिक परामर्श संघ तदर्थ समितिका अध्यक्ष शेखर थपलियाका अनुसार, कानुनी प्रकृयामा समावेश भएका शैक्षिक सस्थाहरुका संचालकलाई अनावश्यक रुपमा दुख दिई सार्वजनिक जीवनमा समेत गम्भीर क्षति पर्ने संगीन आरोप लगाएको छ । यस्ता आरोपले कानूनी प्रकृया अनुसार काम गर्न खोज्ने व्यक्ति तथा सस्थाहरु हतोत्साही हुने उनको भनाई छ ।
कार्यक्रममा उपस्थिति अर्का संचालक उत्तम अर्यालले आफूहरुलाई पक्राउ गरिएको नभई सोधपुछका लागि बोलाइएको स्पष्ट परेका छन् । अन्य संचालकहरुले पनि आफूहरुलाई त्यहाँ बोलाएको र छलफलपछि फर्किएर आएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई वास्तविकता जान्न शिक्षा मन्त्रालयमा पत्र लेखेर बुझिदिन अनुरोध गरेको भएपनि प्रशासन त्यसका लागि तयार नभएको संचालकहरुको गुनासो छ । शिक्षा मन्त्रालयमा पनि कुरा गर्यौँ, केही समस्या भए जिल्ला प्रशासनबाट पत्र लेखाएर आउन भनिएको छ, यता जिल्ला प्रशासनलाई पत्र लेखिदिन अनुरोध गर्दा उनीहरु हाम्रो काम होइन भन्दै पन्छिएका छन्, संचालकहरुले भने – हामीले अपराधी जस्तो सार्वजनिक रुपमा सजाएँ पायौँ, तपाइहरु चौथो अंग बोलिदिन पर्यो । सिडियो कार्यालयले पत्र लेखेर शिक्षा मन्त्रालयलाई सोधोस् त्यहाँबाट आएको जवाफ अनुसार हामीमाथि व्यवहार होस्, उनीहरुले भने । यही प्रकृयाको आधारमा चितवन, काठमाडौँ जस्ता ठाउँहरुमा पूर्व तयारी कक्षा तथा भाषा प्रशिक्षण केन्द्रहरु संचालनमा छन्, हामीमाथि मात्र फरक व्यवहार किन भयो ?– उनीहरुको प्रश्न छ ।
