हेटौँडाको संगम चोकमा हिँडिरहेकी १० वर्षीया बालिका बलात्कृत, बलात्कारी कष्टडीमा
मकवानपुर, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा एक बालिकालाई रातिको समयमा जबरजस्ती करणी गर्ने एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा १८ बस्ने २५ वर्षीय बिक्रम बोगटीलाई पक्राउ गरेको हो । उनले बुधबार राति अन्दाजी साढे ११ बजेको समयमा बाटोमा हिँडीरहेकी एक बालिकालाई जबरजस्ती संगमचोकस्थित अम्बिका देवी राउतको घरको पिँढीमा लगी करणी गरेको प्रहरीले जनाएको छ ।
रातिको समयमा बोगटी र ती बालिकालाई शंकास्पद रुपमा राउतको पिँढीमा देखेपछि स्थानीयले रोकेर प्रहरीलाई खबर गरेका थिए । सूचना पश्चात वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरु दुबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगी सोधपुछ गरेका थिए । अनुसन्धानका क्रममा ती बालिका अन्तरदृष्टी नेपालको संरक्षणमा रहेको र संस्थाका कोही कसैलाई थाहा नदिई हिँडेर आफ्नो घर गईरहेको अवस्थामा बोगटीले सडकबाट जवरजस्ति हातमा समातेर उक्त स्थानमा लगी करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पिडीत बालिकालाई माईती नेपालको सेफ हाउसमा पठाईएको र बोगटीलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ । पिडित बालिका स्वयमले अन्तरदृष्टी नेपालको वार्डेनको साथमा जिल्ला प्रहरीमा जाहेरी दिएपछि बोगटीलाई जिल्ला अदालत पेश गरिएको थियो ।
