जुनसुकै बेला अचेत हुने अवस्थामा डाक्टर केसी, सरकार कठोर बन्दै मौन अवस्थामा
काठमाडौं, १० साउन । डाक्टर गोविन्द केसीको अवस्था झन–झन नाजुक हुँदै गएको छ । १५ औं अनसन थालेको २७ दिन पुगिसकेको अवस्थामा उनको अवस्था निकै नै गम्भिर रहेको चिकित्सकहरुले बताउँदा पनि सरकारले वार्ता गर्ने र उनको मागको सम्बोधन गर्ने तारतम्य मिलाएको छैन ।
जुम्लामा अनसन बसेका डा केसीलाई सुविधा सम्पन्न अस्पतालमा ल्याउन फिल्मी शैली अपनाएको सरकारले काठमाडौँमा आईपुगेको एक साता बित्नै थाल्दा पनि माग पुरा गर्ने छाँटकाँट नदेखाएपछि वार्ता अनिश्चित बनेको हो ।
डा केसीको उपचारमा खटिएका आवासीयहरुका अनुसार डा केसीको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ, उनको शरिरमा सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको र रगतमा सुगरको मात्र निकै कम भएका कारण उनी जुनसुकै बेला अचेत हुनसक्ने अवस्थामा छन् ।
उनको रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने अवस्था आउन सक्ने बताइएको छ । रक्तचाप अत्यन्त कम भएका उनले होस गुमाउँदै गएको बताइएको छ । डाक्टर केसी केही दिन अझै यही अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था आउन सक्ने बताइएता पनि सरकारी पक्षको मौनताले यो सरकार कति कठोर बन्दै गइरहेको छ भन्ने दर्शाएको छ ।
