बिक्रमले जिते असार महिनाको अनमोल आइडल, नगदसहित गोल्डेन माईक प्रदान
मकवानपुर, ०८ साउन । रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै सुरु गरेको ‘अनमोल आईडल’ को असार महिनाको गोल्डेन माईक हेटौँडा १४ नयाँबस्तीका बिक्रम तामाङले जितेका छन् । ‘अनमोल आइडल’ रेडियो कार्यक्रममा साप्ताहिक रुपमा उत्कृष्ट हुँदै लाईभ कार्यक्रममा प्रस्तुति दिएपछि एसएमएस भोट तथा निर्णायकको मतको आधारमा उनी उत्कृष्ट भएका हुन् ।
तामाङले असार महिनाको बिजेता भएसँगै गोल्डेन माईक सहित नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले वि.सं. २०७५ सालको वार्षिक अनमोल आईडलमा समेत भाग लिनेछन् । हेटौँडा–४ खोपेगल्लीमा अवस्थित रेडियो परिसरमा आयोजित एक कार्यक्रमकाबिच रेडियोका स्टेसन संयोजक बालकृष्ण दाहाल र संचारकर्मी रिपेश ऋद्धि दाहालले तामाङलाई पुरस्कार प्रदान गरेका हुन् ।

यस अघि नै असार ३१ गते भएको लाईभ कार्यक्रमपश्चात असार महिनाका ३ जना साप्ताहिक विजेताहरुमध्ये पहिलो हप्ताका बिजेता सञ्जीव कुमार थिङ, तेस्रो हप्ताका तथा हालका मासिक बिजेता विक्रम तामाङ र चौथो हप्ताका बिजेता पवित्र राईलाई प्रमाणपत्र वितरण गरिएको थियो । असारको दोस्रो हप्ताका बिजेता सुरेन सेवान भने विशेष कारणबस असार महिनाको फाईनल कार्यक्रममा सहभागी हुन सकेनन् ।
हरेक हप्ता, महिना र वर्षमा अनमोल आईडल छनौट गर्ने लक्ष्यका साथ सुरु भएको कार्यक्रममा संचारकर्मी चन्द्र घलान निर्णायकको भूमिकामा छन् । कार्यक्रममा संचारकर्मी सलिना ढुङ्गेल, प्रजोनी सुनार, सुस्मिता पुडासैनी, शुसान्त ढुङ्गाना, कार्यक्रम प्रस्तोता पारु महरा लगायतको उपस्थिति रहेको थियो ।
