डा.केसीको अनसनका क्रममा भएको झडपमा प्रहरी जवानलाई गोली लागेकै हो ?
काठमाडौं, ०७ साउन । डा. गोविन्द केसीलाई गत बिहीबार जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा भएको घटनाका सम्बन्धमा छानबिन हुने भएको छ । बिहीबार भएको झडप घटनाको थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहको नेतृत्वमा समिति गठन गरेको हो ।
डिआईजी शाह नेतृत्वको टोली आइतबार नै जुम्ला पुगेर स्थलगत रुपमा छानबिन अघि बढाएको छ । अस्पतालभित्र भएको बल प्रयोगदेखि जुम्लाका प्रहरी प्रमुख डिएसपी तपन दाहालले घाइते जवानलाई मृत भनेर गलत सूचना प्रवाह गरेको घटनासम्मको छानबिन हुने बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा केसीलाई जबरजस्ती उठाएर काठमाडौं लैजान खोज्ने क्रममा भएको झडपमा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका थिए । उनलाई गोली लागेको वा सिसा लागेको अझै प्रष्ट हुन सकेको छैन ।
