हाँडीखोलामा लामिटार यूथ क्लवले गर्यो बृक्षरोपण
मकवानपुर ५ साउन । मकवानपुरको हाँडीखोलामा रहेको लामिटार यूथ क्लवले नयाँ निर्माण भएको खेलकुद मैदान छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरेको छ । नयाँ बनाइएको मैदानसहित लामिटार सिस्नेघारी दमार बचाउनका लागि वृक्षरोपण गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार पोष्टबाट सिसौ, बकाइनोलगायतका जातको करिब ३ सय विरुवा ल्याएर रोपिएको क्लवका उपाध्यक्ष अनिल राईले जानकारी दिए । ‘गाउँमा भएको चौर मासिएपछि क्लवको सक्रियता एवम् मनहरी गाउँपालिकासहित विभिन्न सहयोगीको सहयोगमा झाडी मासेर चौर बनाएका थियौं’, उनले भने, ‘जंगल र खोलाको नजिक रहेको चौरसंगै वातावरण जोगाउन क्लवको आयोजनामा स्थानीय भद्रभलाद्मीको उपस्थितीमा वृक्षरोपण गरेका हौं ।’
केही बर्ष अघि कवुलियती वनको रुपमा प्रयोग हुँदै आएको स्थानलाई विभिन्न सरोकारवाला संघसंस्था एवम् वडा तथा गाउँपालिकाको स्वीकृतिमा क्लवले व्यवस्थित खेलकुद मैदान निर्माण गरेको थियो । लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी अर्याल, लामिटार पोष्टका प्रतिनिधि, क्लवका पदाधिकारीसहित स्थानीय समाजसेवीको रोहवरमा विरुवा रोपिएको क्लवका सचिव निरञ्जन उप्रेतीले बताए । खेलकुद मैदान निर्माणपश्चात स्थानीय युवाहरुलाई खेल खेल्न थप सहज भएको उनले जानकारी दिए ।
((
