मकवानपुरका एक जना ११ वर्षपछि भिमफेदी जेल चलान
मकवानपुर, ०४ साउन । अदालतले जेल सजायका साथै जरिवा तोकी फरार रहेका मकवानपुरका एक पुरुषलाई ११ वर्षपछि जेल चलान गरिएको छ । दुई मुद्धामा १५–१५ वर्ष गरी ३० वर्ष सजाय तोकिएका मकवानपुरको तात्कालिन नामटार गाविस वडा नम्बर ४ बस्ने ५२ वर्षीय दशरथ परियारलाई बिहीबार भिमफेदी जेल चलान गरिएको हो ।
जिल्ला अदालत मकवानपुरले वि.सं. २०६४ साल बैशाख १३ जिउ मास्ने बेच्ने मुद्दामा १५ बर्ष कैद र रु. १ लाख ६० हजार जरिवाना तथा सोही मितिमा जिउ मास्ने बेच्ने अर्को मुद्धामा १५ बर्ष कैद र रु.१ लाख २० हजार जरिवाना तोकी परियार फरार भएका थिए ।
फरार रहेका उनलाई यही साउन ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापा समेतको कमाण्डमा खटिएको टोलीले हेटौँडा उपमहानगर वडा नम्बर १३ बाट पक्राउ गरेको थियो । पक्राउ परेका परियारलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएकोमा अदालतको आदेसले कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदीमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
