नेपालको पानीमा भारतको खटन
वीरगञ्ज ३ साउन । धान रोप्ने समयमा पानी नभएर निकै कष्ट भोगेका बारा र पर्साका किसानहरु धान रोपाई सकिएपछि मात्रै गण्डक नहरमा पानी आएको भन्दै आफुहरुलाई अहिले आएको पानी हर्ष न विस्मात बनेको गुनासो गर्न थालेका छन् । मनसुन चाँडै सुरु भएको कारण यसबर्ष बारा र पर्साको रोपाई लागभग सकिनै लागेको स्थानीयहरुको भनाई छ ।
समयमा पानी नआएको भन्दै नेपालको पानीमा भारतको मनोमानी भएको स्थानीयहरुको भनाई छ । वर्षे धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने गण्डक सम्झौतामा उल्लेख छ । त्यसअनुसार वैशाख २७ गते नै पानी आइसक्नुपर्ने भए पनि त्यसको झण्डै दुई महिनापछि असार ३१ गते भारतीय पक्षले गण्डक नहरमा पानी छोडेको छ ।
हाल नहरमा जम्मा ३ सय ५८ क्युसेक पानी छोडिएको छ । पानी विस्तारै बारा जिल्लातर्फ गइरहेको छ । दक्षिणतर्फ बग्ने सहायक नहरमा त अझै पानी छोडिएको छैन । अहिले नहरमा पानी आउनुको कुनै अर्थ नरहेको किसान बताउँछन् ।
