हेटौँडामा पेट्रोलको मूल्य फरक–फरक, वैध कि अवैध ?
मकवानपुर, ०२ साउन । हेटौंडा नगरभित्र पेट्रोल फरक मूल्यमा बिक्री गरिएको पाइएको छ । किराना पसलमा बिक्रीका पेट्रोल राखिएको छ । त्यो पनि अवैधरुपमा ।
नेपाल आयल निगमले हाल पेट्रोलको मूल्य १ सय ९ रुपियाँ निर्धारण गरेको छ । हेटौंडा नगर भित्र हटिया–हर्नामाडीलगायत ठाउँका किराना पसलमा अवैधरुपमा पेट्रोल बिक्री गरिएको उपभोक्ताको भनाइ छ । उक्त क्षेत्रका अधिकांश पसलमा १ सय २० रुपियाँमा पेट्रोल बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
हेटौंडा–१६, हटिया बाबुचोकमा सुवेदी सप्लायर्सले प्रतिलिटर १ सय २० रुपियाँमा पेट्रोल बिक्री गर्दै आएको छ । सप्लायर्सकी सञ्चालिकाले हेटौंडा बजारबाट गाडीमा ल्याउनुपर्दा भाडाका कारणले १ सय २० मा बेच्नु परेको बाध्यता सुनाईन् ।
हेटौंडा–१८, हर्नामाडीको महर्जन किराना पसलका कुमार महर्जनले पनि प्रतिलिटर १ सय २० रुपियाँमै पेट्रोल बिक्री गर्ने गरेको बताए । उनका अनुसार पम्पबाट २० लिटर जर्किनमा पेट्रोल ल्याउने गरेको बताए । पेट्रोल ल्याउन बजारबाट अटोमा हाल्नुपर्ने र गाडीमा प्रतिलिटर दुई रुपियाँका दरले भाडा तिर्नुपर्ने उनले बताए । ‘त्यसकारण पनि बढी मूल्यमा बेच्नु परेको हो,’ उनले निर्धक्कसंग भने ।
यसरी पेट्रोल बिक्री गर्ने उनीहरुमात्र होइनन्, हेटौंडाको अन्य किराना पसलहरु पनि छन् । यसरी अवैधरुपमा बिक्री भइरहेको अवस्थामा उपभोक्ता ठगिने र ज्वलनशील पदार्थ भएकोले आगलागीको डर पनि उत्तिकै रहन्छ । जथाभावी पेट्रोल–डिजललगायत प्रज्वलनशिल पदार्थ भण्डारण गरेर बेच्दा सुरक्षा खतरा बढ्न जान्छ ।
–आजको हेटौँडा सन्देश दैनिकबाट
