सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ, ०१ साउन । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्छुट्टै सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशाहामा ना.६ ख ४६८० नम्बरको ट्रकले ना.९ प ८९८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
ठक्करबाट सिराहा लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरीको मृत्यू भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रौतहटको गुजरा नगरपालिका–३ पशुपती टोलस्थित ना.६ त ५८४२ नम्बरको ट्याक्टरबाट अचानक खसेका सोही नगरपालिका–४ बस्ने ३२ वर्षीय जगत चौधरीको टयाक्टरको चक्काले किच्दा सोमबार घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा लु.२ त ६४९२ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय जिवन तामाङको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका जीवनलाई उपचारको जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै नवलपरासी (सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१० लाङ्घाली चोकस्थित राजमार्गमा मंगलबार नम्बर खुल्न नसकेको सवारी साधनले सनाखत नभएका करिब ३५ वर्षीय पुरुषलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
