३ जना बालिकाको डुबेर मृत्यु
काठमाडौं, १ साउन । मुलुकका विभिन्न स्थानहरुमा ३ जना बालबालिकाको डुबेर मृत्यू भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाँके, सुनसरी र महोत्तरीमा ती बालिकाहरुको ज्यान गएको हो ।
बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने भरत शर्माकी ११ वर्षीया छोरी अपेक्षा शर्माको सोमबार डुवेर मृत्यु भएको छ । सोही ठाउँस्थित सप्लाईस जोन होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुवेर असक्त भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको बर्जु गाउँपालिका–२ बस्ने मिठ्ठु मरिकको १ वर्षीया छोरी शिवानी मरिकको सोमबार घरदेखि अन्दाजी ७ सय मिटर टाढा खेल्ने क्रममा नहरको पानीमा डुबेर मृत्यु भएको छ ।
त्यस्तै महोत्तरीको गौशाला नगरपालिका–७ जमुनिया बस्ने बिपलाल महरा चमारको ७ वर्षीया छोरी रोशनी कुमारी चमारको सोमबार आफ्नै घर अगाडिको नालाको पानीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
