अवैध सुन तस्करी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं, ०१ साउन । बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गहनाहरु तस्करी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषा शहिदनगर नगरपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने ५० वर्षीय मुनिलाल भन्ने राम सुगारत यादब र काभ्रे धुलिखेल नगरपालिका–४ घर भई हाल बौद्ध बस्ने ३२ वर्षीय पाल्देन लामा रहेका छन् ।
काठमाडौं महानगरपालिका–९ तिलगंगा बागमती पुल स्थित सडक खण्डबाट ४ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबरको ९९.५ ग्राम अबैध सुनको चुरा २ थान सहित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो भने लामालाई असार ३० गते काठमाडौं महानगरपालिका–९ शम्भुमार्ग स्थित सडक खण्डबाट करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको १ सय ग्राम सुनको चुरा २ थान सहित पक्राउ गरेको थियो ।
उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालय गौचर काठमाडौंमा पठाएको छ ।
