मकवानपुरका एक यस्ता श्रीमान जसले ढोका नखोलेको निहुँमा आफ्नी श्रीमतीलाई कुटेर मारे
मकवानपुर, ०१ साउन । श्रीमान–श्रीमती एकअर्काका सहारा हुन् अनि एकअर्काका परिपुरक पनि । तर कहिलेकाँही समाजमा यस्ता घटना पनि हुन्छन् जुन घटनाले पति वा पतिको ज्यादती, निष्ठुरता र निर्दयीता झल्काइदिन्छ । मकवानपुरमा यस्तै एक घटनाले स्थानीयको होस् उडाइदिएको छ । मकवानपुरको थाहा नगरपालिकामा एक श्रीमानले ढोका नखोलेको निहुँमा आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका थाहानगरपालिका–५ नलिवलका ५२ बर्षीय साहिला थिङले पत्नीलाई कुटेर हत्या गरेका हुन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ बर्षीया पत्नी साहिलीमाया थिङलाई शनिबार राति हत्या गरेका हुन् ।
साहिलीमायाले ढोका नखोलेपछि ढोका फुटाएर कोठामा पसेका उनले घाँटीमा मुड्की प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्या अभियोगबाट बच्न उनले साहिलीको मुखमा विषादी हालेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक धु्रव सिलवालले जानकारी दिएका छन् ।
उनले विष सेवनका कारण पत्नीको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरेका थिए । तर शंका लागि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको पर्दाफास भएको हो । पक्राउ परेका साइलाले कुटेर पत्नीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
