डेढ लाखको कपडासहित ३ जना पक्राउ
रुपन्देही, ३२ असार । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट एपीएफ टोलीले करीव १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बस्ने ३० वर्षिय स्वहान गुप्ता, २२ वर्षिय किस्मत सेख र ३५ वर्षिय मोहन गुप्ता छन् ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लेडिज सुट तथा लेडिज टप्स फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।
