लेवटका ताराबहादुर कुँवर हेटौंडा सरसफाई गर्ने योजनामा
मकवानपुर ३१ असार । काठमाडौंमा चक्रपथ सरसफाई अभियान शुरु गरेका व्यवसायी ताराबहादुर कुँवरले भदौँको पहिलो साताबाट हेटौंडा सरसफाई अभियान थाल्ने भएका छन् ।
काठमाडौंमा ४९ हप्ता सरसफाई अभियान सञ्चालन गरेका कुँवरले भदौको पहिलो शनिबारबाट हेटौंडा उपमहानगरपालिका सफा गर्ने बताएका छन् । हेटौंडाका स्थानीयबासीहरुको साथ र सहयोग पाएमा हरेक शनिबार दुई घण्टा नगर सफा गर्ने उनको भनाइ रहेको छ । सरसफाई अभियानमा हेटौंडा उपमहानगरपालिकासँग समन्वय गरी कार्य गरीने छ ।
हेटौंडा–३ लेवट घरभई काठमाडौंमा व्यवसाय गरेका कुँवरले कलंकीदेखि बालाजूसम्म ४९ हप्ता सरसफाई अभियान सञ्चालन गरेका थिए । सरसफाई अभियान ०७१ मा पनि अठार हप्तासम्म सञ्चालन गरिएको थियो ।
नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष तथा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य रहेका कुँवरले अभियानमा सडकमा भएको धुलो बढार्ने, सडक छेउमा रहेका झारपात काट्ने, फोहर संकलन गर्ने लगाएतको काम गरेको बताए ।
