प्रधानमन्त्रीको कविता : मरेपछि पनि देश हाँसेको देख्ने सपना
काठमाडौँ ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रचेका छन् । मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त व्यक्त गर्दै उनले कविता लेखेका हुन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहनुभएका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीको कविता यस्तो छ ।
“परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम
सगरमाथा, लुम्बिनी, मेची र महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडोमा आएर सपनामा
भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”
