सुन काण्ड अपडेट–बाजेको सेकुवा खुलाउन सर्वोच्चमा रिट
काठमाडौँ, २९ असार । सुन काण्डमा कुनै अपपडेट नभएको समयमा यसले पूनः सानो रुपमा भए पनि निरन्तरता पाएको छ । सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा बाजेको सेकुवा सिलबन्दी गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर भएपछि यसले फेरि सनसनी मच्चाएको हो ।
सो रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी श्रीमती नीतिमा भण्डारीले पेसा तथा व्यवसाय गर्न पाउने हक हनन गर्दै सरकारले शंकाको भरमा तालाबन्दी गरेकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा उक्त रिटको पेसी तोकिएको हो । गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक चेतनाव भण्डारी (चेतन) ले सञ्चालन गरेका ५ वटा शाखामा जेठ ३० गते सिलबन्दी गरेको थियो ।
अनुसन्धान समितिले भण्डारीलाई सुन तस्करीमा संलग्न रहेको आशंका गरेसँगै उनी फरार छन्। भण्डारी हाल अमेरिकामा छन् । न्युयोर्कमा शाखा खोल्न उनी त्यहाँ गएका बेला तस्करीमा उनको संलग्नता खुलेको हो । भण्डारीले चुडामणि उप्रेती ‘गोरे’ सँग मिलेर सुन तस्करीमा लगानी गरेको खुलेको थियो ।
