मनहरीमा बाढीबाट बस्ती जोगाउन भङ्गालो नियन्त्रण
मकवानपुर, २७ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुर बस्ती पछाडी रहेको राप्तीखोला प्रतापपुर बस्तीमा पस्ने संभावना बढेपछि आजबाट भङ्गालो नियन्त्रण कार्य सुरु भएको छ । गत साल गएको बाढीले प्रतापपुरको बाँध नजिकै रहेको भङ्गालो प्रतापपुर बस्तीपट्टि पारेको थियो ।
वर्षातको समय सुरु भएलगत्तै त्यहाँका स्थानीयहरु त्रसित भइरहेको अवस्थामा भङ्गालो नियन्त्रण थालिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले गाउँपालिकालाई बस्ती सुरक्षाका लागि भङ्गालो नियन्त्रण गर्नु पर्ने भन्दै आग्रह गरेपछि गाउँपालिका अध्यक्ष एकराज उप्रेती सहित कार्यपालिका सदस्यहरुको बैठकले बस्ती सुरक्षा गर्नु पर्ने निर्णय गरेसंगै आजबाट भङ्गालो नियन्त्रण कार्य सुरु भएको हो ।

तस्बिर–जयराम मोक्तान
भङ्गालो नियन्त्रणका लागि राप्तीखोलामा जेसिबी तथा अन्य मेसिन प्रयोगकालागि जिल्ला प्रशासन कार्यालय मकवानपुर, राष्ट्रिय निकुञ्ज लगाएतका निकायबाट अनुमति प्राप्त भएसँगै भङ्गालो नियन्त्रण कार्य सुरु गरिएको राप्तीखोला भङ्गालो नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष नरेश राईले बताए । वर्षातको समय भएकाले तत्कालै बस्ती बचाउ गर्नु पर्ने भएकाले डिपीआर नगरि कामको थालनी गरिएको हो ।
‘बजेट ठुलो कुरा होईन , हामीले जनताको सेवा गर्नुछ’ मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीले भने, ‘खर्च पनि धेरै लाग्ने होईन, , पहिला काम , त्यस पछि दाम’ । गत वर्षको बाढी सोही भङ्गालोबाट प्रतापपुर बस्तीमा पस्दा , नयाँ बस्ती सुनाचुरी र जोगी तालका १२ सय घर परिवार प्रभावित भएका थिए । गाउँपालिकाले बस्ती सुरक्षाका लागि काम थालनी गरेसँगै स्थानीयहरु हर्षित भएका छन् ।
