सवारी दुर्घटनामा हेटौँडाका १ सहित ३ जनाको मृत्यू
हेटौँडा, २६ असार । मकवानपुरको हेटौँडासहित देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित सडकमा एनएल ०१ एए ०५४३ नम्बरको भारतीय ग्याँस बुलेटले सोमबार साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको छ । बारा अम्लेखगंज घर भएका ५० वर्षीय गोपाल सुनारलाई बुलेटले ठक्कर दिंदा उनी गम्भीर घाईते भएपछि उपचारको लागि चुरे हिल अस्पतालमा पठाइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । फरार चाकलको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै झापाको शिवसतासी–८ झिलझिलेस्थित पुर्वपश्चिम राजमार्गमा मे.५ प ६८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको ज्यान गएको छ । ठक्करबाट भारत बिरपुर घर भई हाल शिवसतासी–८ झिलझिले चोकस्थित समिर ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सनीको बिएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको रतुवामाई नगरपालिका–५ लेटीस्थित खेत जोत्न जाने क्रममा सोही स्थान बस्ने २७ वर्षीय मनोज माझीले चलाएको को. २ त ८११५ नम्बरको ट्याक्टरबाट खसेपछि उनको छोरा ४ वर्षीय बादल माझी लडी ट्याक्टरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
