अलपत्र भर्ना अभियान–विद्यालयमा भर्ना गरेपछि मुख्यमन्त्री पौडेलदेखि सांसदसम्मको बेवास्ता

तु खबर संवाददाता
२०७५ असार २६, मंगलवार १४:५८

मकवानपुर, २६ असार । विद्यालयमा भर्ना अभियानका क्रममा केही विद्यार्थीहरुको अभिभावक बन्दै हल्लाखल्ला गरेर दैनिक पत्रिका, टेलिभिजन तथा अनलाईन तताएका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलदेखि सांसदहरुले भर्ना पश्चात भने ती विद्यार्थीहरुलाई बेवास्ता गरिएको भेटिएको छ ।

सरकारले चलाएको विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका मुख्यमन्त्री डोरमणि पौडेलले समेत विद्यार्थीको अवस्थाबारे बुझ्न नआएको गुनासो आएको हो । तर मुख्यमन्त्रीको सचिवालयले भने मुख्यमन्त्री पौडेलले विद्यार्थी बारे जानकारी लिइरहेको बताएको छ । भर्ना अभियानपछि गायब भएका मुख्यमन्त्रीदेखि मन्त्री, सांसद र जनप्रतिनिधिहरुको बेवास्ता बारे आज हेटौँडाबाट प्रकाशित हेटौँडा सन्देश दैनिकले समेत मुख्य समाचार बनाएर कानमा तेल हालेर निदाएका अभियानवाला अभिभावकहरुलाई सातो उडाइदिएको छ । भर्ना गर्न मात्र पुगेका उनीहरुलाई आफुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु बारे सामान्य जानकारी समेत छैन ।

मुख्यमन्त्री पौडेलले मकवानपुरको मनहरी–६ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीका २ विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । उनले मनहरी ६ जोगीटारका ६ वर्षीय सञ्जित ब्लोन र जेसिका प्रजाको अभिभावकको दायित्व लिएका थिए । साथै मनहरीकै महेन्द्र किरण माविमा सुमन चेपाङको समेत अभिभावकत्व लिएका थिए ।

अभियानकै क्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङ, सांसद विरोध खतिवडाले विश्वास थोकर, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले आर्यन बिक, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले खुशी घिमिरे, वडा सदस्य पुस्कर सुवेदीले गंगा प्रजा र वडा सदस्य रामप्रसाद ढकालले विक्रम थिङको अभिभावकत्व ग्रहण गरेका थिए ।

त्यस्तै प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले हेटौँडा–५ मा रहेको बालज्योति माविमा ययुब राईलाई अभिभावक बनेर भर्ना गराएका थिए । त्यस्तै अन्य जनप्रतिनिधिहरुले समेत अभिभावक बनेर भर्ना अभियानमा सघाएका थिए । भर्ना पश्चात ती विद्यार्थीहरुको अवस्था बारे कति जना प्रतिनिधि जानकार छन् त ? यस बारे भने खोजी गर्नुपर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*