पार्किङ विकल्प बारे ७ दिनभित्र प्रतिवेदन पेश हुने, मउवा संघको आन्दोलन स्थगित

तु खबर संवाददाता
२०७५ असार २४, आईतवार १८:१७

हेटौँडा,२४ असार । ‘नो पार्किङ’ का विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबिच भएको वार्तामा माग सम्बोधन हुने गरी सहमति भएपछि संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवाल र उपमहानगरपालिका मेयर हरिबहादुर महत सहितको टोली संलग्न वार्ताले ७ दिनभित्र पार्किङ क्षेत्रको विकल्प खोज्ने गरी प्रतिवेदन प्रस्तुत गरिने सहमति समेत गरेको छ । संघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नगरप्रमुख महतको अध्यक्षतामा बसेको वार्ताले विशेष गरी मूख्य बजार क्षेत्रका शाखा सडकहरुमा र मुख्य मार्गमा ट्राफिक एवं पार्किङ व्यवस्थापनमा देखिएको समस्यालाई तत्काल व्यवस्थापन गर्नका लागि उपयुक्त स्थानहरुमा पार्किङ निषेधित क्षेत्रको पहिचान गर्ने, शाखा सडकहरुमा एकतर्फी सवारी साधन संचालनको विकल्प खोज्ने, मुख्य बजार क्षेत्रको प्रमुख मार्गको आसपासमा रहेको बिरुवाको आसपासमा मोटरसाईकल स्ट्याण्ड निर्माण गर्न उपयुक्तताको अध्ययन गरी बढीमा ७ दिनभित्र प्रतिवेदन पेश गर्ने र सो पश्चात उपयुक्तताको आधारमा निर्णय लिने निर्णय भएको उल्लेख गरिएको छ ।

यस अघि उपमहानगरले व्यवसायी तथा संघसँग कुनै परामर्श नै नगरी अचानक हेटौँडाको राप्तिरोडमा ‘नो पार्किङ’ जोन घोषणा गरेपछि संघले चरणबद्ध आन्दोलनमा उत्रने तयारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*