‘बाबुकान्छा’ लाई लिएर चलचित्र युनिट हेटौँडा
मकवानपुर, २२ असार । नेपाली कथानक चलचित्र ‘बाबुकान्छा’ युनिट प्रचारप्रसारका क्रममा आज हेटौँडामा आइपुगेको छ । आउँदो असार २९ गतेबाट देशभर प्रर्दशनमा आउने चलचित्रले युवाहरुको प्रेमको कथा बोकेको बताइएको छ ।
युवा अवस्थामा हुने प्रेमका कारण पर्ने प्रभावको विषयमा निर्माण गरिएको चलचित्रले दर्शकलाई पूर्णरुपमा मनोरञ्जन दिने चलचित्रका नायक सलोन बस्नेतले बताए । नायक बस्नेतले चलचित्रले नयाँ खाले टेष्ट दिने समेत बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता तथा संचारकर्मी रवि अधिकारीले चलचित्र ७० लाख रुपैँया लागतमा निर्माण भएको बताए । देशभरका करिब ६० वटा हलमा प्रदर्शन हुने चलचित्र निकै राम्रो बनेको उनको भनाई छ ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।
बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । फिल्ममा अस्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले चलचित्र ‘कर्णवीर’ को ‘चन्द्रमा झैं राम्री छौ’ बोलको गीतलाई रिमिक्स गरेका छन् ।
