ऋणमा डुब्दै नेपाल वायुसेवा निगम, ऐन मिच्दै विमान किन्दै
काठमाडौँ, २२ असार । नेपाल वायुसेवा निगमले ऐन मिच्दै विमान किन्दै गर्दै झन–झन ऋणमा डुब्न थालेको छ । निगमले सार्वजनिक खरिद ऐन– २०६३ लाई लत्याउँदै पुनः ६ वटा साना विमान खरिदको तयारी गरेको हो ।
विमान खरिद प्रक्रियाका क्रममा पटक–पटक विवादमा फस्ने गरेको निगमले नेपालका दुर्गम स्थानहरूमा उडान भर्नेगरी १९ सिट क्षमता भएको स्टोल (सर्ट टेक अफ ल्यान्डिङ) खरिद गर्न लागिएको श्रोतको दाबी छ ।
विना प्रतिस्पर्धा लिजिङ कम्पनी मार्फत विमान खरिद गर्न थालिएकोले यसमा करोडौँ कमिसनको खेल रहेको जानकारहरु बताउँछन् ।
२०७५ असार दोस्रो साता निगमले खरिद गरेको दुईवटा वाइडबडीका लागि सरकारको जमानीमा २४ अर्ब ऋण लिएको थियो । कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याज मात्रै निगमले हरेक महिना २० करोड बुझाउनुपर्छ । अबको १८ महिनाभित्र खरिद गर्न लागिएको साना विमान पनि निगमले ऋण खोजेरै किन्न लागेको हो ।
